१. संस्था स्थापनाको सन्दर्भ
कुरा २०७० सालतिरको हो । मनका धनी, परोपकारी, अरूको निम्ति सहयोग गर्न पाउँदा रमाउने मृदुभाषी झन्डै १० वर्ष पहिला हाम्रो भेटघाट र निकट सम्बन्धमा रहेका व्यक्तित्व खेमराज पुनले एकाएक प्रस्ताव राख्नुभयो– भाइ भोलि बिहान के छ कार्यक्रम ? अचम्म माने र उत्तर दिएँ, खासै केही छैन दाइ । उसो भए भोलि बिहान भैरहवा जेलमा जाऔं अनि परासी पनि जान सकिन्छ भन्नुभयो । किन होला भन्ने जिज्ञासाले मलाई कुत्कुत्याइ रह्यो । यद्यपि मैले पहिले नै हस् भनिसकेको थिएँ ।
भोलिपल्ट बिहानै हामी परासी कारागारमा पुग्यौं तर त्यहाँ बन्दी जीवन बिताएका महिला र उनीहरूका अश्रित बालबालिका रहेनछन् । भैरहवा थकाली होटलमा खाना खायौँ अनि भैरहवा कारागारमा पुग्यौँ । भैरहवा कारागारमा प्रशासनसँग केही जिज्ञासा राखियो तर खेम पुनले परिकल्पना गरे जस्ता अश्रित बालबालिका नरहेको जानकारी प्राप्त भयो र हामी त्यसै दिन पाल्पा कारागारमा पुग्यौं । पाल्पा कारागारमा प्रशासन शाखामा सरासर गयौं र यहाँको प्रमुख सर कता हुनुहुन्छ होला भनी सोध्यौँ । एकजना कर्मचारीबाट उत्तर आयो भित्र व्यस्त हुनुहुन्छ ।
भेट्नु थियो । एकैछिनका निम्ति समय मिल्छ कि ? सौध्यौं अनि भित्र गयौं । चिनजान थिएन, अपरिचित कार्यालय प्रमुख धीरेन्द्र पन्तको नेमप्लेटमा आँखा पुग्यो र उहाँलाई अभिवादन गर्यौं । अनि सङ्क्षिप्त परिचय आदानप्रदान भयो । खेमदाइले पन्त सरसँग जिज्ञासा उठाउनुभयो । यहाँ बन्दी महिलाका आश्रित बालबालिका कति छन् ? कुनकुन उमेर समंहका छन् ? केही सहयोग गर्न सकिन्छ कि भन्ने हाम्रो अपेक्षा हो बोल्नुभयो । सुरुमा मलाई त कस्तोकस्तो लाग्यो । कुरा गर्दै जाँदा धीरेन्द्र सर आफं पनि सामाजिक कार्यमा रमाउने र सामाजिक भावनाले प्रेरित भएको बुझ्यौं । उहाँले आफ्नो मन, वचन, कर्मले खेमदाइको अभियानमा साथ दिने प्रतिबद्धता र आश्वासन पनि दिनुभयो । त्यसपछि हामी आफ्नो लक्ष्यको नजिक पुगेको ठानी प्रसन्न भयौं ।
त्यहाँ बन्दी महिलाका आश्रित १२ जना बालबालिका भएको जानकारी पनि प्राप्त भयो । पन्त सरले संस्थाको विधान निर्माण गरी जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा संस्था दर्ता गर्न, कारागार विभाग र जिल्ला प्रशान कार्यालय पाल्पा तथा कारागार पाल्पाबाट अनुमति लिएर प्रक्रियागत ढड्डले अगाडि बढ्न सल्लाह दिनुभयो । सोही सल्लाह पालना गर्ने ठानी बेलुकी बुटवलतर्फ फर्कियौं ।
‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ खेमदाइलाई अब यो अभियान तत्काल अगाडि बढाउनुपर्छ भन्ने भावनाले अझै प्रेरित गर्यो । तँ आँट म पुर्याउँछु भन्छन् रे दैवले यस्तै भयो । खेमदाइको घरको बैठक कक्षमा भोलिपल्ट यस क्षेत्रका सामाजिक, शैक्षिक तथा भद्र व्यक्तिहरूसहित ३५ जनाको बैठक बस्यो । अन्तक्रिया गरियो र निर्दिष्ट गन्तव्य स्थल सत्कर्मको यात्रा तय भयो त्यसैका प्रतिफल श्री खेम ओमी पुन कल्याणकारी प्रतिष्ठान २०७१ स्थापना हुन पुग्यो । समाजसेवाको भावनाबाट जन्मिएको यस संस्थाको संस्थापक सचिवको तर्फबाट यस संस्थाको विगत वर्तमान र भावी योजनाका सम्बन्धमा सङ्क्षिप्त चर्चा गरिएको छ ।
२. विषयपरिचय
जेहेनदार भएर पनि आर्थिक विपन्नताका कारण पठनपाठनलाई अगाडि बढाउन नसकेका विद्यार्थीहरूको अध्ययन नरोकियोस् भन्ने पवित्र उद्देश्यबाट प्रेरित भई स्थापना भएको यस संस्थाले आफ्ना सेवा उपलब्ध गराउने क्रममा प्रक्रिया पुगी आएका निवेदनका आधारमा निजका अभिभावक र स्वयम् विद्यार्थीको प्रत्यक्ष भेटघाटबाट संस्थाले सहयोगी हात बढाउँदै आएको छ । यसक्रममा विद्यार्थीहरूलाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने व्यक्ति र संस्थाप्रति हार्दिक धन्यवादज्ञापन गर्दछौं ।
यस संस्थाले कारागारमा बन्दी जीवन बिताइरहेका बन्दी महिलाका बालबालिकालाई सेवा उपलब्ध गराउँदै आएको छ । यो पवित्र कार्यले अरू प्रशस्त धन हुने र मन हुनेहरूलाई पनि प्रेरणा जागोस् अनि उहाँहरूलाई पनि यस पवित्र कार्यमा साथमा लिई अगाडि बढ्ने संस्थाको उद्देश्य रहेको छ ।
विकसित मुलुकहरूमा जेलमा बन्दी जीवन बिताएका व्यक्तिलाई समेत राज्यले शिक्षा प्रदान गर्ने व्यवस्था रहे पनि हामीकहाँ यस्तो परम्पराको सुरुवात हुन सकेको छैन । कारागारमा बन्दी जीवन बिताइरहेका अर्जुन रायमाझीजस्ता व्यक्तिहरू जसले यस संस्थाको सहयोगमा एस.एल.सी., प्लस टु र स्नातक तह उत्तीर्ण गरे । उनी बन्दी जीवनको समाप्तिपश्चात् मन, वचन र कर्मले सामाजिक सेवामा आबद्ध हुने प्रतिबद्धता व्यक्त गरिरहँदा कारागारलाई यातनागृह होइन, सुधारगृहका रूपमा विकसित गर्नुपर्छ भन्ने दृष्टिकोण राख्छन् । यो संस्था स्थापनाको आन्तरिक मर्म पनि अरूलाई सेवा गर्ने उत्प्रेरणा जगाउनुरहेको छ ।
यो निस्वार्थ भावनाले स्थापना भएको गैरराजनैतिक कल्याणकारी सामाजिक संस्था हो । संस्थापकको आशय पनि पवित्र कार्य गरी आत्मसन्तुष्टि प्राप्त गर्दै समाज रूपान्तरणका लागि सेवाको भावनाले प्रेरित भई अरूहरूलाई यस्तै कार्य गर्न बाटो देखाउनु रहेको छ ।
२०७०।८।१७ मा खेम पुनको ५९ औं जन्मदिको अवसर पारेर १७ लाखबाट सुरु गरिएको यो अभियानमा उहाँले प्रतिवर्ष जन्मदिनकै अवसरमा रकम थप गर्दै आउँदा हालसम्म ६२,००००० बैसट्ठी लाख पुगिसकेको छ । आगामी दिनहरूमा यसैगरी क्रमश: रकम वृद्धि गर्दै जाने लक्ष्य रहेको छ । हालसम्म ब्याजबाट २० लाखभन्दा बढी रकम छात्रवृत्तिमा खर्च भइसकेको छ । यससम्बन्धी विस्तृत विवरण कोषाध्यक्षको प्रतिवेदनमा आउने छ ।
आगामी दिनमा यो पवित्र संस्था र अक्षयकोषको संचालन गर्ने जिम्मा पनि सेवाग्राही उत्पादित दक्ष जनशक्तिमा रहने छ भन्ने संस्थापकको इच्छा रहेको छ । जसरी सोलुखुम्मु जिल्लामा स्थापना भएको शिक्षक तालिम केन्द्र र सोलुखुम्बु बहुमुखी क्याम्पस (जहाँ डिग्रीसम्म पढाइ हुन्छ) दिवङ्गत सगरमाथा आरोही एडमन्ड हिलारीले आप्mनो जीवनकालमा स्थापना गर्नुभएको हो । यो संस्था ट्रस्टबाट सञ्चालन भइरहेको छ अनि भइरहने पनि छ । यस संस्थाका अध्यक्षज्यंको सोंच आफ्नो अनुपस्थितिमा पनि यो संस्था बाँच्ने छ र कल्याणकारी कार्य गरिरहने सोंच बाँचिरहने छ र जीवन्त रहने छ भन्ने बुझिन्छ ।
संसारमा धन हुने धेरै हुनुहुन्छ । म धनी व्यक्ति नभए पनि मेरो केही लगानीले कल्याणकारी परोपकारी कार्य गर्दै अरूलाई सत्पे्ररणा जगाउन सकियोस् भन्ने मनोभावनाका साथ अगाडि बढ्नु भएको छ । विलक्षण प्रतिभा र दक्ष जनशक्ति बन्ने सम्भावना भएर पनि आर्थिक विपन्नताका कारण अध्ययनबाट वञ्चित प्रतिभावान् विद्यार्थीको लागि यो संस्था सारथि बन्ने विषय स्पष्ट छ । यही मनोकाङ्क्षाका साथ खेमराज पुनले यस संस्थालाई गति प्रदान गरिरहनु भएको छ । यो अहिले व्यक्ति नभएर संस्थागत स्वरुप प्राप्त गरी अगाडि बढिरहेको छ श्री खेमओमी पुन कल्याणकारी प्रतिष्ठान ।
३. संस्थाको स्थापना र विभिन्न निकायबाट अनुमति
मिति २०७१।५।१५ मा नेपाल सरकार गृहमन्त्रालय कारागार व्यवस्थापन विभाग, कालिकास्थान, काठमाडौं, प्रशासन शाखाले श्री कारागार कार्यालय पाल्पालाई कारागारमा बन्दी जीवन बिताइरहेका महिला बन्दीहरूका आश्रित बालबालिकालाई बालशिक्षा, पोषण कार्यक्रम र अन्य विविध कार्यक्रम सञ्चालन गर्नका निम्ति अनुमति प्रदान गर्यो ।
मिति २०७१।५।२९ गते नेपाल सरकार गृहमन्त्रालय जिल्ला प्रशासन कार्यालय तानसेन, पाल्पाको प्रशासन फाँटबाट श्री खेमओमी पुन कल्प्याणकारी प्रतिष्ठान बुटवल–६, रूपन्देहीलाई पाल्पा कारागारमा बन्दी जीवन बिताइरहेका महिला बन्दीहरूका आश्रित बालबालिकालाई बालशिक्षा, पोषण कार्यक्रम र अन्य विविध कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा मिति २०७१।२।२९ गते दर्ता नं.७०।७१।२०५० मा दर्ता भएको खेमओमी पुन कल्याणकारी प्रतिष्ठान बुटवल–६ लाई प्रचलि कानुनको परिधिभित्र रही आवश्यक कार्यक्रम सञ्चालन गर्न अनुमति प्रदान गर्यो । यसको बोधार्थसमेत कारागार व्यवस्थापन विभाग, कालिका स्थान, काठमाडौं, नेपाल र श्री कारागार कार्यालय पाल्पालाई प्राप्त भएको छ ।
यस संस्थाले गरेका कार्यप्रगतिका सम्बन्धमा कारागार व्यवस्थापन विभागले यस संस्थाको कार्यप्रगति प्रतिवेदनमा च.नं.१४१७ मा उल्लेख गरे अनुसार बुँदा न.७ र बुँदा न.८ लाई यहाँ जस्ताको तस्तै उल्लेख गरिएको छ:
आ.व. २०७०।०७१ मा सञ्चालन भई सम्पन्न गरिएका कार्यक्रमहरू
– महिला बन्दीगृहभित्र बालविकास केन्द्र स्थापना
– मिति २०७० फाल्गुणदेखि २०७१ आषाढसम्म बालविकास केन्द्रमा अध्यापन गराउने सहयोगी बन्दी १ र सहायक सहयोगी १ जनालाई मासिक पारिश्रमिक प्रदान गरेको ।
– महिला बन्दीहरूका १० जना बालबालिकाहरूलाई पठनपाठन सामग्री पौष्टिक आहार, खाजा, लिटो, बौद्धिक खेलकुद सामग्रीहरू प्रदान गरेको ।
– बन्दीहरूका आफन्तहरू भेटघाट गर्न आउँदा बस्ने प्रतिक्षालय निर्माणमा सहयोग तथा बेन्च र प्लास्टिकका कुर्ची सहयोग गरेको ।
आ.व. २०७१/०७२ मा सञ्चालित भई सम्पन्न गरिएका कार्यक्रमहरू
– मिति २०७१ श्रावणदेखि २०७१ चैत्रसम्म ९ महिना बालविकास केन्द्रमा अध्यापन गराउने सहयोगी बन्दी १ र सहायक सहयोगी १ जनालाई मासिक पारिश्रमिक प्रदान गरेको तथा मिति २०७२ वैशाखदेखि २०७० आषाढसम्म ३ महिना बालविकास केन्द्रमा अध्यापन गराउने बालविकास केन्द्र व्यवस्थापक १ जना, बालविकास केन्द्र सहयोगी बन्दी १ र सहायक सहयोगी १ जनालाई मासिक पारिश्रमिक प्रदान गरेको।
– महिला बन्दीहरूका आश्रित १० जना बालबालिकालाई पठनपाठन सामग्रीहरू, पौष्टिक आहार, खाजा, लिटो, बौद्धिक खेलकुद सामग्री तथा कपडा, झोला प्रदान गरेको ।
– बन्दीहरूका आफन्तहरू भेटघाट गर्न आउँदा बस्ने प्रतीक्षालय निर्माण गरी २१ इन्चको रड्डीन टेलिभिजन प्रदान गरेको ।
– पुरुषबन्दी गृहमा रहेका ३ जना कैदी बन्दीहरूले कारागारमा एस.एल.सी. परीक्षा केन्द्र राखी परीक्षा दिलाइएको र उनीहरूलाई लाग्ने परीक्षा शुल्क तथा पाठ्यसामग्री प्रदान गरेकोमा २ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका ।
यसरी क्रमश: हरेक वर्ष यस संस्थाले आफ्ना कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । बन्दीमध्ये ३ जनाले यस संस्थाको सहयोगमा प्लस टु उत्तीर्ण गरी हाल स्नातक तहमा अध्ययन गर्दै आइरहेका छन् ।
४. सञ्चालित गतिविधि
२०७० साल मङ्सिर १७ गते खेमराज पुनले आफ्नो ५६ औं जन्मदिनको अवसर पारेर १७०००००। (अक्षरेपि सत्र लाख मात्र) जम्मा गर्नु भएको थियो । यस रकमको व्याजबाट कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने गरी हाल प्रतिवर्ष जन्मदिनकै अवसर पारेर रकम थप गर्दै जाँदा यस संस्थाको कोष ६२००००० (अक्षरेपि वैसट्ठी लाख) पुगेको छ ।
कल्याणकारी कार्यक्रम गर्ने पवित्र भावनाले स्थापना भएको यस अभियानले सार्थकता प्राप्त गर्दै २०७१ साल वैशाख ६ गते औपचारिक रूपमा संस्थाको भेला तथा अन्तक्रियाबाट संस्था दर्ता, संस्थाको नाम, सञ्चालक समितिको गठन, संस्थाको छाप, संस्थाको ठेगाना तय गरी संस्थाको विधाननिर्माण गरी तत्काल मानवीय हितमा अगाडि बढेको यो संस्था विभिन्न कारणले गर्दा शिक्षाको अवसरबाट वञ्चित विपन्न समुदायका बालबालिकालाई शैक्षिक अवसर उपलब्ध गराउने साथै समाजमा रहेका दु:खी, असहाय, अपाड्ड तथा पिछडिएका वर्गलाई सहयोग पुर्याउने, पवित्र उद्देश्यले स्थापना भएको ७ वर्ष पुग्न पाउँदा नपाउँदै थुप्रै रचनात्मक कार्य सम्पन्न भएका छन् । यस क्रममा पाल्पा कारागारमा रहेका आश्रित ३ जना बालबालिकालाई प्राथमिक कक्षामा भर्ना गर्नका निम्ति काठमाडौं जिल्लामा सञ्चालित जुनकिरी प्राथमिक विद्यालयमा आवसीय सुविधासहित अध्ययनको अवसर प्रदान गरिएको छ । २०७२ फागुनदेखि पाल्पा कारागारमा बन्दी जीवन बिताइरहेका पाल्पा बल्डेड्डढी–८ का अर्जुन रायमाझी, गुल्मी पौदी अमराइका ताराबहादुर वलामी र खगु बस्यालले यस संस्थाको आर्थिक तथा शैक्षिक सहयोगमा एस.एल.सी. र प्लस टु उत्तीर्ण गरी हाल स्नातक तहमा अध्ययनरत छन् । खगु बस्याल पाल्पा खानीगाउँ–६, दैलातुड्ड निवासी हुन् ।
यस खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानलाई यस अवस्थामा आउन उपयुक्त वातावरण मिलाइदिने, प्रतिष्ठानको विधान निर्माणका क्रममा रचनात्मक सुझावसहित पाल्पा जिल्ला कारागारमा यस संस्थालाई रचनात्मक कार्य गर्ने समन्वयकारी भंमिका निर्वाह गरी जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापन विभाग काठमाडौंसँग समेत समन्वय गराई महŒवपंर्ण भंमिका निर्वाह गर्नुभएका तात्कालीन जेलर (प्रमुख) धीरेन्द्र पन्तको सहयोग अविस्मरणीय रहेको छ । संस्थाको तर्फबाट उहाँप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौं ।
निष्कर्ष
चार वेद र असार पुराणहरूको एउटै सार हो ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ यस्तै परोपकारी हातका पर्याय बन्नुभएको छ खेमराज पुन र ओमीकला पुन । भनिन्छ– परोपकारी हातमा ईश्वरको बास हुन्छ । राज्यले बहन गर्नुपर्ने दायित्व एउटा मनकारी व्यक्तिको लगानीमा संस्थागत रूपमा स्थापना भएको कल्याणकारी संस्था श्री खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानले पंरा गरेको छ । देशको शैक्षिक तथा सामाजिक रूपान्तरणमा यो संस्था एउटा कोसेढुड्डा बन्न पुगेको छ ।
चाहे पाल्पा कारागारका बन्दीजीवन बिताइरहेका महिलाका आश्रित बालबालिकाको निम्ति शैक्षिक सहयोग होस् चाहे आगालागीजस्ता दैवीप्रकोपमा मलमपट्टी लगाउने काम होस्, चाहे बन्दीहरूलाई औपचारिक रूपमा उच्च शिक्षाको अवसर प्रदान गरेर होस्, चाहे विपन्नहरूलाई आर्थिक सहयोग पुर्याएर होस्, चाहे रक्त सञ्चार केन्द्र बुटवललाई गरिएको सहयोग होस्, चाहे अपाड्ड आश्रम तथा जेष्ठ नागरिक मिलन केन्द्रका जेष्ठ नागरिकहरूलाई गरिएका सहयोगका सन्दर्भ हुन्, चाहे शारीरिक रूपमा भिन्न व्यक्तिलाई पुर्याएको आर्थिक सहयोग होस् अथवा हालसम्म ८ जना युवाहरूलाई छात्रवृत्ति प्रदान गरेर यो देशको दक्ष जनशक्ति डाक्टर र इन्जिनियर उत्पादन गर्ने सन्दर्भमा नै किन नहोस् । समाज रूपान्तरणका निम्ति प्रेरक व्यक्तित्व बनेर खेमराज पुन र ओमीकला पुन यस समाजका प्रेरणाका स्रोत बन्नु भएको छ ।
६ वर्षको छोटो अवधिमा यस संस्थाले थुप्रै कल्याणकारी कार्य सम्पन्न गरेको तथ्य माथि उल्लेख भइसकेको छ । आगामी वर्षहरूमा पनि क्रमश: अक्षयकोषमा रकम थप र वृद्धि हुँदै जाने छ । यसबाट हालसम्म सञ्चालित सेवाको तुलनामा भावी कल्याणकारी सेवाहरू अझ वृद्धि हुँदै जाने छन् । यो संस्था नेपालकै एउटा नमुना र अनुकरणीय संस्था बन्ने मार्गमा धेरै लामो समय कुर्नुपर्ने छैन ।
मेरो आफ्नो लगभग १५ वर्षे सामाजिक अभियानको अवधिमा विभिन्न संघ संस्थामा आबद्ध भएर कार्य सम्पादन गर्ने क्रममा दर्जन बढी संस्थामा अध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भइ काम गर्ने मौका मिल्यो । यस संस्थामा सुरुदेखि हालसम्म क्रियाशील भइरहँदा मैले बेग्लै आनन्द र अनुभंति प्राप्त गरेको छु तर मैले अरू संस्थालाई अवमंल्यन गर्न खोजेको किमार्थ होइन । यस संस्थाबाट धेरै सिक्ने मौका प्राप्त भयो तर यो संस्था, यसका संस्थापक श्रद्धेय खेमराज पुन र ओमीकला पुन मेरो अन्तहृदयदेखि गर्व गर्न लायक हुनुहुुन्छ । त्यो उचाइ यस संस्थाले प्राप्त गर्न सफल भएको छ । यात्रा लामो छ अझै कल्याणकारी कार्य गर्दै जाने छ ।
यस संस्थाले दिएको सामाजिक रूपान्तरण र प्रेरणादायी मार्गको सिको अन्य संघ संस्था, समुदाय र व्यक्तिका लागि समेत प्रेरणाको स्रोत बन्नेछ । यस अर्थमा यस्तो गर्विलो संस्थाको निवर्तमान सचिव र उपाध्यक्ष जस्तो गहन जिम्मेवारी वहन गर्ने अवसर प्राप्त भएकोमा संस्थाप्रति हार्दिक आभार, धन्यवाद र कृतज्ञता प्रकट गर्दै आगामी दिनमा संस्थाको हितका निम्ति आफ्नो मन, वचन र कर्मले संस्थाको श्रीवृद्धिका निम्ति लाग्ने समर्पित बन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
अस्तु ।
डा. नारायणप्रसाद पन्थ
संस्थापक सचिव तथा वर्तमान उपाध्यक्ष
श्री खेम ओमीपुन कल्याणकारी प्रतिष्ठान बुटवल, रूपन्देही